रुन्छ, हास्छ, नाच्छ, गाउँछ, रमाउँछ रहर
बेच्छ रहर, किन्छ रहर, कमाउँछ शहर
दासी रहर, प्यासी शहर, सपनाको आँधी
आँधी मनको जमाउँछ, बनाउँछ जहर ।।
Category: Uncategorized
अस्तित्वको उत्खनन्
कहिले कही मलाई हेर्न मन लाग्छ
मस्तिष्क भित्रको भाव
र
भाव भित्रको ब्रम्हाण्ड
तर
कुनै छुट्टै कोणबाट –
जहाँ देखि
सम्पूर्ण कुरा स्पष्ट देखिउन
बगिरहेको समयको छाल देखियोस
बदलिंदो उमेर देखियोस
बालापन देखियोस, बैंस देखियोस
मलाई हेर्न मन लाग्छ
एउटा अर्को ब्रम्हाण्ड
जहाँ म र मेरो अस्तित्व
स्पष्ट देख्न सकौं
त्यो अस्तित्व
जो
एउटा विशाल शुन्यका
अशङ्ख्य मध्येको एक पिण्डमा
अपरिमित समयको कुनै एक क्षणमा
आफ्नो सम्पुर्ण जीवन बाँचिरहेछ।